युनिकमद्वारा सदस्यलाई नेतृत्व विकास तालिम

 नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) ले आज नेतृत्व विकास तालिम प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा आज संघमा आबद्ध सदस्यलाई एकदिवसीय नेतृत्व विकास तालिम प्रदान गरेको हो । तालिमको उद्घाटन उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का प्रवक्ता कुमार भट्टराईले गर्नु भएको थियो । उहाँले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा यूएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।

त्यस्तै, संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा परिवर्तन आएको बताउनुभयो । ‘युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको छ’, उहाँले भन्नुभयो, ‘राम्रो अवसरको खोजीमा यताउता धाउनु भन्दा आफूलाई राम्रो बनाएर सोही काममा अवसर सिर्जना गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले सर्वप्रथम मानिसले आफूले आफैँलाई नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको बताउनुभयो ।

तालिममा सहभागीलाई यूएनआईकय एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिनुभएको थियो । नेतृत्व विकासकारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले समेत प्रशिक्षण दिनुभयो ।

युनिकम बिर्तामोड अध्यक्ष कविन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युनिकम नेपालका सागर रिजालले गर्नुभएको थियो भने स्वागत सहभागीका तर्फबाट गंगा भट्टराईले गर्नुभएको थियो ।